बल्चौर सहकारीको साधारण सभा सम्पन्न : शेयर पूँजी ४० लाख पुग्यो
कैलालीको लम्कीमा रहेको बल्चौर जैविक विविधता संरक्षण बचत तथा ऋण सहकारी संस्था लि.को १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीको १५ औँ वार्षिक साधारण सभा शुक्रबार लम्कीको सौराई होटलमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा लम्कीचुहा वडा नं. १ का वडा अध्यक्ष नेत्रप्रसाद खनालले जुन उद्देश्यले ऋण लिएको हो, सोही उद्देश्यमा लगानी गर्दा सहकारी संस्था र ऋणी सदस्य दुवैलाई फाइदा हुने बताए । त्यस्तै प्रमुख अतिथि खनालले आफूले जानेको काम र क्षेत्रमा मात्र लगानी गर्दा शेयर सदस्यलाई व्यवसायिक फाइदा हुने र संस्थाले लक्ष्य हासिल गर्न सहज हुने बताए । त्यस्तै संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष धनञ्जय न्यौपानेले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै वि.सं. २०६७ सालमा व्यापारी, वातावरण संरक्षणप्रेमी अगुवा, बुद्धिजीवीहरूका ३७ जना शेयर सदस्यसहित रु. १ लाख २ हजार ५ सय चुक्ता शेयर पूँजीका साथ स्थापना भई भाडाको घरबाट सेवा दिँदै आएकोमा २०७९ साल मंसिरदेखि आफ्नै भवनबाट शेयर सदस्यहरूलाई सेवा दिँदै आइरहेको बताए । नेपाल सरकारको बन तथा भू–संरक्षण मन्त्रालयले कर्णाली रिभर करिडोर मार्गका रूपमा मान्यता दिएसँगै यस क्षेत्रको जैविक विविधता संरक्षण र पर्यटन विकासमा टेवा पुगेको छ । यसले स्थानीय बासिन्दाको जीवनस्तर सुधार गरी दिगो जीविकोपार्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यही उद्देश्यअनुसार आवश्यक मागको परिपूर्ति गर्दै सानो–सानो पूँजी संकलन गरी ग्रामीण क्षेत्रमा साना पूँजीबाट व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरूलाई संस्थाले आफ्नो क्षमताअनुसार सुलभ ब्याजदरमा ऋण लगानी गर्दै सदस्यहरूलाई आत्मनिर्भर बनाउने काम गर्दै आएको बताए । त्यस्तै अध्यक्ष न्यौपानेले संस्थाका सदस्यहरूको हितका लागि व्यापार व्यवसाय कर्जा लगानी, सामाजिक कार्यका लागि १ लाखसम्म, आकस्मिक ऋण तीन महिनाका लागि २५ हजार र वैदेशिक अध्ययन ऋण ५ लाखसम्म उपलब्ध गराउन स्रोत खोजी गरिने बताए । त्यस्तै संस्थाका कोषाध्यक्ष तिलकप्रसाद खनालका अनुसार शेयर पूँजी ४० लाख ५५ हजार ७ सय पुगेको छ भने बचत निक्षेप ८८ लाख ९७ हजार ९३० रुपैयाँ संकलन गरिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा २९ लाख ४८ हजार २१ रुपैयाँ आम्दानी गरेको संस्थाको खुद नाफा २ लाख ९९ हजार ७ सय १७ रुपैयाँ रहेको छ । ६ सय ७६ जना शेयर सदस्य रहेको संस्थाको वार्षिक साधारण सभामा उपस्थित अतिथिहरूले संस्थाको प्रगति तथा संस्थाको वृद्धिका लागि शुभकामना व्यक्त गरेका थिए ।
भर्खरै
मन्त्री प्रतिभा, कर्मचारी चलाउने दिपक बोहरा
भदौदेखि शिक्षक महासंघ पुनः आन्दोलनमा उत्रने
लम्कीमा पाँच लायन्स क्लबको सुखद कार्य: पीडित परिवारलाई खाद्यान्न र मन्दिरमा वृक्षारोपण
वित्त आयोगको कार्यसम्पादन मुल्यांकनमा लम्कीचुहा तेस्रो स्थानमा
ओलीको गठबन्धन प्रस्ताव प्रचण्ड-माधव द्वारा अस्विकार
नाउपा नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज
बल्चौर सहकारीको साधारण सभा सम्पन्न : शेयर पूँजी ४० लाख पुग्यो




प्रतिकृया दिनुहोस